इलाम २ बाट सुहाङ एकल सिफारिस


January 3, 2026 मा प्रकाशित

इलाम। पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दैगएका एमाले नेता सुहाङ नेम्वाङलाई नेकपा एमाले इलाम क्षेत्र–२ ले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

शनिबार क्षेत्र नम्बर २ को माङ्सेबुुङस्थित गजुरमुखीमा सम्पन्न एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी बैठकले सुहाङको नाम सर्वसम्मत् सिफारिसको निर्णय गरेको एमाले इलामका अध्यक्ष गणेशप्रसाद बरालले बताउनुभयो ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुनु भएको थियो । नेम्वाङका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनुु भएको थियो ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका नेम्वाङ अहिले आफ्नो निर्वाचन क्षेत्रमा खटिने सांसदमध्ये सक्रिय मानिनुु हुुन्छ ।

गत असोज १८ गतेको विपद्पछि जिल्लाका दुुबै निर्वाचन क्षेत्र भएका विपद्को घटनामा परेका प्रत्येकजसो पीडित परिवारलाई भेट्न पुुगेका नेता नेम्वाङले जिल्लाको पुुनर्निर्माणका लागि केन्द्रमा बजेटको खबरदारी गर्न सहयोग गरेकाले केही रकम जिल्लामा पार्न सकिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।

उता एमालेले इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र १ का लागि निवर्तमान सांसद महेश बस्नेत, काजीमान कागते र दुुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको जनाएको छ । बस्नेत २०७९ सालमा सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट २५ हजार सात सय ५३ मत ल्याएर विजयी हुुनुु भएको थियो ।

बस्नेतका निकटतम् प्रतिद्वन्द्वी पूूर्व प्रधानमन्त्री झलनाथ खनालले २३ हजार ८९ मत ल्याउनुु भएको थियो । सिफारिसमा परेका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य र भट्टराई सूर्योदय नगरपालिकाकी पूर्वप्रमुख हुनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here