विर्तामोड । नेपाली कांग्रेस झापाले पार्टीका आमन्त्रित जिल्ला सदस्य विर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै कारबाही गरिएको जनाउनुभएको हो ।
‘केही समय अघिदेखि पार्टीहित विपरित कार्य गर्दै आएकोमा पटक–पटक सच्चिन मौका प्रदान गर्दासमेत आचारणमा सुधार नगरी पार्टी हित विपरितका गतिविधिमा निरन्तर संलग्न हुँदै आएको पाइएकोले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्काशनको कारबाही गरिएको छ’–विज्ञप्तिमा भनिएको छ ।
कार्कीले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका सबै निकाय र संस्थाहरुबाट समेत प्रतिनिधित्व खारेज गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै अब उप्रान्त उनले गरेका कुनै पनि गतिविधिको पार्टी जवाफदेही नहुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।






