टुटेको जनविश्वास कांग्रेसले मात्रै जोड्न सक्छ : उपसभापति शर्मा


February 3, 2026 मा प्रकाशित

विर्तामोड । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी विद्रोहपछि टुटेको जनविश्वासलाई जोड्ने तागत कांग्रेसमा मात्रै बताउनुभएको छ । नेपाली कांग्रेस झापा चुनाव प्रचार समिति क्षेत्र नम्बर–२ को आयोजनामा विर्तामोडस्थित विर्ता पार्टी प्यालेसमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता शर्माले जेनजीले उठाएको माग सम्बोधन गर्ने क्षमता कांग्रेसमा नै रहेको दावी गर्नुभएको हो ।

फरक विचार राख्ने तर परिवर्तन भएर आउने शक्तिको अस्तित्वसमेतलाई स्वीकार गरेर परिवर्तित सन्दर्भको नेतृत्व २००७ सालदेखि संविधान घोषणासम्म कांग्रेसले गरेको उदाहरण प्रस्तुत गर्दै उहाँले पार्टी बदलेर देश बदल्ने संकल्पसहित कांग्रेस अघि बढेको बताउनुभयो । ‘कांग्रेस बद्लिएर आफैंबाट नेतृत्व र नीति परिवर्तन गरेर निर्वाचनमा होमिएको छ’–नेता शर्माले भन्नुभयो–‘हामी त्यसै आएका छैनौ दुर दराजका सबै क्षेत्र घुमेर त्यसको विकासका लागि योजनासहित लिएर आएका छौं ।’ विशेष महाधिवेशनको चर्चा गर्दै उहाँले पार्टीमा परिवर्तन चाहने र नचाहने भनेर ब्यर्थको बहस नगर्न कार्यकर्तालाई सुझाव दिदै उहाँले एकढिक्का भएर मतपरिणाम आफ्नो पक्षमा पार्ने कार्यमा खटिन आह्वान गर्नुभयो ।

‘पटक–पटक नेतृत्व गरेको र पहिलोचोटी देशको नेतृत्व गर्छु भनेर आएका भावी प्रधानमन्त्रीका आकांक्षीभन्दा नेपाली कांग्रेसले अघि सारेका प्रधानमन्त्रीका उम्मेद्वार गगनकुमार थापा हरेक हिसावले अब्बल हुनुहुन्छ्’–नेता शर्माले भन्नुभयो–‘ आफू परिवर्तित हुन नचाहनेले देशको परिवर्तन गर्न सक्दैन, पार्टीमा पाहुना गएकाले पनि नेतृत्व गर्न सक्दैन ।’ नेपाली कांग्रेसले यसपटक १०६ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेद्वार बनाएको बताउँदै उहाँले विगतको तुलनामा दोब्बर संख्यामा महिला उम्मेद्वार बनाएपछि कार्यकर्तामा उत्साह बढेको धारणा राख्नुभयो ।

जेन जी आन्दोलनका क्रममा २३ गते सरकारबाट र २४ गते जेनजीका नाममा घुसपैठ भएर भएका अप्रिय घटनाको निश्पक्ष छानविन जरुरी रहेको उहाँको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी परिवर्तन भएको अब परिवर्तनको आभाष दिने काम जनताको भएको बताउँदै उम्मेद्वार छनौटमा देखिएको परिपक्वताले चाहँदा पार्टीभित्र र आफैंभित्र परिवर्तन सम्भव रहेको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेतृत्व परिवर्तनसँगै पार्टीको तर्फबाट भावी प्रधानन्त्रीमा गगन थापालाई अघि सारेपछि मतदातामा उत्साह देखिएको बताउँदै निर्वाचनपछि नेपाली कांग्रेस ठूलो पार्टी हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाईले संविधानसभा निर्वाचनदेखि हालसम्म आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको बताउँदै संविधानमार्फत ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको, आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानून बनाएको, भ्रष्टाचारीलाई जुनसुकै बेला मुद्दा चलाउन सकिने विधेयक ल्याएको, कृषि राज्यमन्त्री भएको बेला झापामा सुपारी जोन, रबर जोन कार्यक्रम ल्याएको उदाहरण प्रस्तुत गर्नुभयो ।  अलैची खेती विकासका लागि रणनीति तयार पार्दापार्दै सरकारबाट हट्नुपरेकाले योजना अनुसार काम गर्न नसकेको उहाँको भनाइ थियो ।

उहाँले शिक्षा नीति, विकास निर्माण, भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै नीतिगत सुधार गर्न मिश्रीत परिणामले असम्भव हुने बताउँदै कांग्रेसलाई सरकार गठनका लागि सुविधायुक्त बहुमत दिन पनि मतदातामा अपिल गर्नुभयो । कार्यक्रममा समानुपातितर्फका उम्मेद्वार उमा शिवाकोटीले सबैको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै देश बदल्ने कांग्रेस पार्टीको संकल्पमा साथ दिदै पार्टीलाई अत्यधिक बहुमतका साथ विजयी गराउन मतदातामा आह्वान गर्नुभयो ।

समानुपातिक उम्मेद्वार मनुमाया विश्वकर्माले परिवर्तनको बेग कसैले रोक्न नसक्ने बताउँदै परिवर्तित भएर आएको कांग्रेसलाई जनविश्वास प्राप्त हुने धारणा राख्नुभयो । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–२ का सभापति खगेन्द्र मैनालीले निर्वाचन परिचालन एवं प्रचार–प्रसारका विषयमा भए–गरेका कामहरुको विवरण प्रस्तुत गर्नुभएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेश सुब्बा, नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराई लगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी, सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्य क्षेत्रीय प्रतिनिधि एवं क्रियाशिल सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव चन्द्र चुडालले गर्नुभएको थियो । कार्यक्रममा परिवर्तनले ओतप्रोत भएको  ‘हेरन शहीदहरुलाई…’ बोलको गित सन्तोष रायमाझीले प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here