काठमाडौँ । यसअघि स्थगित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २२औँ संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ २९ गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पोखरामा हुने भनिएको अवार्ड अन्तिम समयमा स्थगित भएको थियो । यसैगरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रुपमा रहेको पिपल्स च्वाइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

स्पोट्र्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ । त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोटर्स समिट हुनेछ । मञ्चका महासचिव अञ्जन खड्काले अवार्डलाई चलायमान बनाउन स्पोट्र्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी गराउनुभयो ।
एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर रहेको छ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ ।






