बैंकिङ प्रणालीमा अधिक तरलताको चाप, निक्षेप ७६ खर्ब नाघ्दा कर्जा विस्तार कमजोर


January 3, 2026 मा प्रकाशित

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप थप बढ्दै गएको छ । कर्जा माग संकुचित रहँदा र बैंकहरूले पर्याप्त लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप ७६ खर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १५ गते मात्र बैंकिङ प्रणालीमा चार अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको हो। यसअघिल्लो दिन पुस १४ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ७६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो।

तथ्यांकअनुसार सो अवधिमा वाणिज्य बैंकहरूमा तीन अर्ब रुपैयाँ निक्षेप थपिएको छ। पुस १४ गतेसम्म ६८ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकहरूको निक्षेप पुस १५ गते बढेर ६८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। यस्तै, विकास बैंक र वित्त कम्पनीसमेत रहेको अन्य वित्तीय क्षेत्रको कुल निक्षेप ७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेपमा उल्लेख्य वृद्धि देखिए पनि कर्जा लगानी भने सुस्त नै रहेको छ। राष्ट्र बैंकका अनुसार सो अवधिमा बैंकिङ प्रणालीमा चार अर्ब रुपैयाँ निक्षेप थपिँदा जम्मा एक अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ।

पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कुल ५६ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरूको कर्जा लगानी ५० खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाहरूले ६ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

निक्षेप वृद्धि र कर्जा विस्तारबीचको असन्तुलनका कारण बैंकिङ प्रणालीमा तरलता थप सहज बन्दै गएको छ। यसको असर अन्तर बैंक कारोबारको ब्याजदरमा पनि देखिएको छ। हाल अन्तर बैंक ब्याजदर २।७५ प्रतिशतमा स्थिर रहेको छ।

यस्तै, निक्षेपको तुलनामा कर्जा प्रवाह कमजोर हुँदा कर्जा–निक्षेप अनुपात सीडी रेसियो घटेर ७३.९५ प्रतिशतमा झरेको छ। आर्थिक गतिविधि सुस्त रहँदा कर्जा माग अपेक्षाकृत रुपमा कमजोर देखिएको छ, जसका कारण बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था कायम रहन पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here