मानाभरा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लबलाई


January 4, 2026 मा प्रकाशित

ताप्लेजुङ। प्रथम आमन्त्रित मानाभरा गोल्डकपको उपाधि माछापोखरी हिटी क्लब चाँगेले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा ३–० गोलले लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुम्खिमलाई पराजित गर्दै माछापोखरीले उपाधि जितेको हो ।

उपाधि जितसँगै माछापोखरी हिटी क्लबले तीन लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र हात पारेको छ । उपविजेता लालीगुराँस स्पोर्टिङ युवा क्लबले एक लाख ५२ हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।

प्रतियोगितामा जनसेवा आदर्श क्लब ढुङ्गेसाँघुलाई पराजित गर्दै माछापोखरी हिटी क्लब र नवप्रयास युथ क्लब हाङ्देवालाई पराजित गर्दै लालीगुराँस स्पोर्टिङ युवा क्लब फाइनलमा पुगेको थियो । उपाधि विजेता तथा उपविजेतालाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्ति, उपाध्यक्ष रवीन साम्रा विकास लगायतले पुरस्कार राशि तथा ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको छ ।

गाउँपालिकाकै ठूलो धनराशी पुरस्कार भएको प्रतियोगिता मानाभरा स्पोर्टिङ क्लब फक्ताङ्लुङ गाउँपालिका –२ खेजेनिमले आयोजना गरेको हो । आयोजक क्लबका अध्यक्ष तुलसी दाहालका अनुसार प्रतियोगितामा आमन्त्रित पाहुना टोली लिखुभुजी रामेछाप क्लबसहित आठ टोली सहभागी भएका थिए । प्रतियोतिगा पुस १५ गते सुरु भई शनिबार सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here