भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित हुने सम्भावना देखिएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएकाले परीक्षा स्थगित हुने सम्भावना भएको हो ।
एसईईको परीक्षा नियन्त्रण कार्यालयले माघ पहिलो साता कार्यतालिका प्रकाशित गर्ने तयारी गरेको छ । माघ पहिलो साता परीक्षा सञ्चालन समितिको बैठकले चैत पहिलो साता एसईई परीक्षा गर्ने गरी तालिका सार्वजनिक गर्ने योजना बनाएको थियो ।
एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षाको मिति सर्ने वा नसर्ने विषयमा माघको पहिलो साता निर्णय हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘परीक्षा स्थगित गर्ने वा नगर्ने विषयमा सञ्चालक समितिको बैठकले निर्णय गर्नेछ ।’ स्रोतका अनुसार एसईईको प्रश्नपत्र छपाइ गर्ने जनक शिक्षा सामग्री संस्था केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्नुपर्ने भएकाले परीक्षा सर्ने सम्भावना छ । केन्द्रले पुस तेस्रो साताबाट मतपत्र छपाइ सुरु गर्नेछ । मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइ गर्ने मिति एकै समय भएका कारण एसईई परीक्षा सर्ने सम्भावना छ ।
‘मतपत्र छपाइ गर्दा एसईईको प्रश्नपत्र छपाइ गर्न सकिँदैन, त्यसैले केही दिन एसईईको प्रश्नपत्र छाप्ने मिति पछि सर्न सक्छ’ –केन्द्रका प्रबन्ध सञ्चालक लोकनाथ पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो । केन्द्रले माघ २२ गतेबाट मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको छ । प्रबन्ध सञ्चालक पौडेलले सुरक्षादस्ताले सेक्युरिटी प्रेस नियन्त्रण लिएर मतपत्र छपाइ सुरु गर्दा अन्य कुनै पनि काम गर्न सम्भव नहुने बताउनुभयो ।
फागुन २१ गते निर्वाचन हुने पक्का भए एसईई परीक्षा सर्नेछ । निर्वाचनको मिति पछि सरेमा परीक्षा सर्ने सम्भावना हुँदैन । स्रोतका अनुसार यही २० गते केन्द्र र राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने सम्भावना छ । राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्ष एवं शिक्षा सचिव चूडामणि पौडेलले निर्वाचनका कारण एसईई परीक्षा केही दिन पछि सर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘फागुनमा निर्वाचन भए चैतमा परीक्षा गर्न मुस्किल पर्नेछ ।’
उहाँका अनुसार यस विषयमा केही दिनमा बोर्डको बैठक बसेर निर्णय हुनेछ । केन्द्रले एसईईका लागि उत्तरपुस्तिका छपाइ गरिसकेको छ भने प्रश्नपत्र छपाइको लागि तयारी गरिरहेको छ ।
एसईई परीक्षा नियन्त्रक अधिकारीले पनिकाले हाल परीक्षामा सहभागी विद्यार्थीको फारम रुजु गर्ने, प्रश्नपत्र तयार गर्ने, डाटा इन्ट्री गर्नेलगायतका काम गरिरहेको जानकारी दिनुभयो । बोर्डले परीक्षा स्थगित भए चैतको अन्तिमसम्ममा गर्ने तयारी गरेको छ । यो वर्षको परीक्षामा करिब ५ लाख १५ हजार विद्यार्थी सहभागी हुने अनुमान छ ।






