
महाभारा । छ दशक अघि गाउँमा पढेलेखेका मान्छे थिएनन् । तत्कालिन प्रधानपञ्च नारायणसिंह राजवंशीले एउटा जुक्ति निकाले । गाउँभरीका बालबालिकालाई भेला गराएर शिक्षा दिने । उनी आफै सक्रिय भए । गाउँका सबै स्थानीयका छोराछोरीलाई आफ्नो घर छेऊको ठूलो कदमको फेदमुनि भेला गराउन सूचना छोडे ।
गाउँलेहरुले प्रधानपञ्च राजवंशीले भनेजस्तैगरी आफ्ना छोराछोरीलाई उनको घर छेऊको कदमको रुखमा भेला गराउन थाले । खुल्ला चौरको कदमको रुख मुनि बालबालिकालाई पढाउने लेखाउने काम सुरु भयो । यो, २०२३ सालतिरको कुरा हो ।
त्यसबेला त्यही रुखमुनि कक्षा ३ सम्म पठनपाठन हुन्थ्यो । स्थानीयको सहयोगमा २०२८ सालतिर एउटा काठको भवन निर्माण गरियो । रुखमुनिको पढाईले विद्यालयको मान्यता पायो । साविक महाभारा गाउँपञ्चायतका प्रथम प्रधान पञ्च समेत रहेका नारायण सिंह राजवंशीको पहल र नेतृत्वमा २०२३ सालमा वीरेन्द्र प्राथमिक विद्यालयको नामबाट उक्त विद्यालयको स्थापना भयो ।
२०२८ सालमा शिक्षा ऐन लागू भएपछि २०२९ सालमा यस विद्यालयको नाम परिवर्तन गरी ‘प्रावि केन्द्र नं. ५’ राखिएको थियो । २०३४ सालमा पुनः विद्यालयको नाम परिवर्तन गरी जनकल्याण प्रावि राखियो । विद्यालयको नाममा हाल ६ बिघा १३ कट्ठा १४ धुर जमिन छ । विद्यालय परिसर १५ कट्ठा जमिनमा अवस्थित छ । तर, १५ कट्ठा जमिनको जग्गा धनी पूजा प्रमाण पत्र विद्यालयले हालसम्म प्राप्त गर्न सकेको छैन् ।
स्थानीय शिवकुमारी कौसिकबाट १ बिघा ३ कट्ठा ६ धुर जमिन निःशुल्क दान स्वरुप प्राप्त गरेको देखिन्छ भने बाँकी जग्गा तत्कालिन पञ्चात सरकारबाट हदबन्दीभन्दा बढी जग्गा सरकारीकरण गर्ने क्रममा प्राप्त गरेको देखिन्छ ।
हाल विद्यालयमा ६ वटा भवन छन् । जसमध्ये ३ वटा भवन जीर्ण अवस्थामा छ । विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । दरबन्दीका शिक्षक ८, बाल शिक्षक ३ र कर्मचारी १ जना कार्यरत छन् ।


