विकासको पर्खाइमा ग्रामीण बजार ‘भागुडुब्बा’


January 3, 2026 मा प्रकाशित

बाह्रदशी । सानो क्षेत्रफल । दशकौ पुराना रुखहरु । झुरुप्प टहरा । जसको जति शक्ति उसको त्यति नै ठूलो टहरा । झापाको दक्षिणी ग्रामीण बजार भागुडुब्बाको चित्र हो यो ।
बाह्रदशी गाउँपालिका १ स्थित भागुडुब्बा बजार जिल्लाको पुरानोमध्येको बजार हो । समय बिते तर, बजारको अवस्था फेरिएन । खुद्रा पसलहरु ठूला बन्न सकेका छैनन् । टहराहरु व्यवस्थित छैनन् । बढ्दो चापले बजारको क्षेत्रफल दिनप्रति दिन साँघुरिदो छ । ढल छैन । स्वच्छ खानेपानी छैन । शौचालय छैन । बजार प्रवेश गर्ने र निस्किने बाटो व्यवस्थित छैन । बजार व्यवस्थित र आधुनिक नहुँदा स्थानीयको आवश्यकताअनुसारका पसलहरु खुल्न सकेका छैनन् ।

भागुडुब्बा, बाह्रदशी १ नम्बर वडाको प्रमुख र एक मात्र बजार हो । वडाका करीब ५ हजार जनसंख्या उक्त बजारमा आश्रित छन् । तर, बजारको अवस्था परिवर्तन नहुँदा स्थानीय बर्षौदेखि राजगढ, बिर्तामोडलगायतका बजार धाउन बाध्य छन् । बजारको आसपास ठूलो संख्यामा राजवंशी, सन्थाल, मुस्लिम समुदायको बसोबास छ । ‘म जन्मिएदेखि हुर्किएर यो अवस्थासम्म आईपुग्दा पनि बजारको अवस्था जस्ताको त्यस्तै छ’ बाह्रदशी १ का पूर्व वडाध्यक्ष शम्भु राजवंशीले भने,‘बजार व्यवस्थित र स्तरोन्नति गर्न कसैले चासो देखाएनन् ।’

भागुडुब्बा बजारलाई व्यवस्थित र आधुनिक बनाउन आफू जनप्रतिनिधि हुँदादेखि पहल सुरु गरेको राजवंशीले बताए । उनकाअनुसार करीब एक बिघा क्षेत्रफलमा फैलिएको बजारलाई व्यवस्थित बनाउने कार्यमा प्रदेश र केन्द्र सरकारलाई लिखित जानकारी गराएको स्मरण गरे । ‘म २०२९ सालदेखि यो ठाउँमा छु । यो बजारको अवस्था त्यतिबेला र अहिलेमा कुनै परिवर्तन छैन’ सोभितमान तामाङले भने,‘जथाभावी बढ्दै गएका पसल टहराले बजार साघुँरो भएको छ । चाडो व्यवस्थित गर्नुको विकल्प छैन ।’

ग्रामीण क्षेत्रको बजार भएकाले स्तरोन्नतिमा सरकारी पक्षले ध्यान नदिएको उनको आरोप छ । उक्त बजारको विकल्पमा ५ किलोमिटर टाढा राजगढ बजार छ । ‘यो बजारले हामीलाई धेरै सहज भएको छ । होइन भने सामान्य सामान किनबेच गर्न पनि ५ किलोमिटर टाढाको राजगढ जानुको विकल्प हुदैन’ उनले भने ।

भागुडुब्बामा हप्ताको तीन दिन बजार लाग्छ । ‘पहिला हप्तामा दुई दिन शुक्रबार र मंगलबार मात्र बजार लाग्दथ्यो । अहिले स्थानीयको मागअनुसार आइतबार समेत गरी हप्तामा तीन दिन बजार लाग्न थालेको छ’ प्रबिण राजवंशीले भने,‘अब जनप्रतिनिधि र सरकारी संयन्त्र लागेर बजारको विकास गर्नुको विकल्प छैन ।’ बजारमा किराना, चिया नास्ता, कपडा, मिठाई, माछा मासु, सागसब्जी, साइकल ग्यारेजसहित ५० बढी पसल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here