
एजेन्सी । बलिउड अभिनेता सलमान खानका एक प्रशंसकले फिल्म निर्देशक अभिनव कश्यपविरुद्ध मुम्बईको बान्द्रा प्रहरी स्टेसनमा उजुरी दर्ता गराएका छन्।
‘दबंग’ चलचित्रका निर्देशक समेत रहेका कश्यपले हालैका अन्तर्वार्ताहरूमा सलमान खानमाथि लगाएका गम्भीर आरोपप्रति आक्रोशित हुँदै इमरान काजी नामका प्रशंसकले उजुरी दिएका हुन्।
इमरान काजी र उनको मित्रमण्डलको तर्फबाट दिइएको उक्त निवेदनमा कश्यपविरुद्ध एफआईआर दर्ता गर्न माग गरिएको छ। उजुरीकर्ता काजीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनव कश्यपले विभिन्न पोडकास्टहरूमा गएर सलमान खानको बारेमा अत्यन्तै तल्लो स्तरमा उत्रिएर नराम्रा कुराहरू गरेको आरोप लगाएका छन्।
उनले सलमान खानले आफ्नो आम्दानीको ७५ प्रतिशत हिस्सा ‘विइङ ह्युमन’ संस्थामार्फत परोपकारी कार्य, स्वास्थ्य र शिक्षामा खर्च गर्ने गरेको उल्लेख गर्दै त्यस्तो व्यक्तिको मानमर्दन सह्य नहुने बताएका छन्। काजीले यस विषयमा महाराष्ट्रका गृहमन्त्री र मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई समेत भेटेर कडा कारबाहीका लागि आग्रह गर्ने चेतावनी दिएका छन्।
केही दिनअघि विभिन्न पडकास्टमा सहभागी भएका निर्देशक अभिनव कश्यपले सलमान खानलाई ‘गुन्डा’ र ‘नराम्रो मान्छे’ को संज्ञा दिएका थिए। कश्यपले सलमानलाई अभिनयभन्दा पनि सेलिब्रेटी हुनुको शक्ति बढी मन पर्ने र उनीभित्र बदलाको भावना रहेको जस्ता गम्भीर आरोप लगाएका थिए। सलमान र कश्यपबिचको विवाद ‘दबंग २’ को निर्देशनको समयदेखि नै सुरु भएको थियो।






