
झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति भएको बुद्ध एयरको विमान सुरक्षित ठाउँमा राख्ने काम आइतबार पनि जारी छ । शनिबार २ वटा क्रेनले सार्न नसकेपछि विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर आइतबार पनि जहाज सार्ने काम भइरहेको विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए ।
विमान सार्न ३ वटा क्रेनको आवश्यक परेको जनाइएको छ ।
काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा चिप्लिएर खोल्सामा पुगेको थियो ।
विमानस्थल प्रमुख खत्रीका अनुसार जहाज अप्ठ्यारो ठाउँमा छ, शनिवार दिनभर खोल्सा पुर्ने र सार्ने ठाउँ बनाउने काम भयो । आइतबार सुरक्षित ठाउँमा राखिने छ । दुर्घटनापछि शनिवार बिहानबाट नियमित उडान र अवतरणको काम सुरु भइसकेको उनले जानकारी दिए ।






