बिर्तामोड । बिर्तामोड नगरपालिकाको बुट्टाबारी–प्याकुरेल चोक सडक खण्डको स्तरोन्नति कार्य ८३ प्रतिशत सम्पन्न भएको नगरपालिकाले जनाएको छ। वडा नं। ६, ७ र ८ लाई जोड्ने महत्वपूर्ण सडकको रूपमा रहेको यो परियोजनामा तीव्रगतिमा काम भइरहेको छ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वरिष्ठ योजना अधिकृत जय तिम्सिनालगायतको टोलीले स्थलमै पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा नगर प्रमुख प्रसाईले तोकिएको समयसीमाभित्र काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिँदै गुणस्तरमा कुनै पनि कञ्जुस्याइँ हुन नहुने बताए।

उपप्रमुख संग्रौलाले तीन वर्षदेखि यो सडकको स्तरोन्नति कार्य हुँदै आएको स्मरण गर्दै अहिले अस्फाल्ट प्रविधिबाट निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। सडकमा कालोपत्रेसँगै फुटपाथ, पेभर्स लगाउने, विद्युत पोल सार्ने, सडकबत्ती जडान तथा स्थानीय मागअनुसार ट्रान्सफर्मर सार्ने काम पनि समानान्तर रूपमा भइरहेको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले काम द्रुत गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै आगामी दुई महिनाभित्र सम्पूर्ण सडक निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे। उनका अनुसार अहिलेसम्म ३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १ हजार २ सय मिटर एक हप्ताभित्र र बाँकी खण्ड दुई हप्ताभित्र कालोपत्रे गरिनेछ।
विश्व बैंकको करिब ६४ करोड रुपैयाँ लगानीमा १२।५ मिटर चौडाइ र २.२ मिटर फुटपाथसहितको यो ६.२ किलोमिटर सडक आरपी–साप समता जेभीले निर्माण गरिरहेको छ ।





