इटहरी । इटहरी उपमहानगरले ज्यालादारीमा काम गर्ने गरी इन्जिनियरको आवेदन मागेपछि नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ती जनाएको छ । बौद्धिक वर्गमा पर्ने इन्जिनियरलाई मासिक ज्यालादारी दिने गरी आवेदन मागिएको भन्दै आपत्ती जनाएको हो ।
इटहरी उपमहानगरपालिकाले बिल्डिङ एन्ड आर्किटेक्ट र स्ट्रक्चरल इन्जिनियर पदका लागि छैठौँ तहमा १-१ जना मासिक ज्यालादारीमा कर्मचारी माग गर्दै सुचना जारी गरेको थियो । इन्जिनियर जस्तो समाजिक प्रतिष्ठा बोकेको पेसामा ‘ज्यालादारी’ हैसियतमा विज्ञापन गरेको भन्दै एसोसिएसनले आपत्ति जनाएको हो । इन्जिनियर उपाधिको उपहास हुने गरी विज्ञापन गरीएको एसोसिएसनको भनाई छ ।
एसोसिएसनका महासचिव विनोदप्रकाश पन्डितले उपमहानगरलाई सच्चिन आग्रह गर्दै नसच्चिए बोल्ड डिसिजनमा पुग्ने चेतावनी दिएको छ ।
उपमहानगरपालिकाले विभिन्न तहमा गरी २५ जना कर्मचारीका लागि आवेदन माग गर्दै बुधबार १५ दिने सुचना जारी गरेको छ । जसमा आठौ तहको मेडिकल अधिकृत ९चिकित्सक० चार जना मासिक ज्यालादारीमा मागेको छ ।
यस्तै पाँचौ तहका लागि एक जना सुवेदार करारमा, चौथो तहको लागि ल्याब असिस्टेन्ट २ जना मासिक ज्यालादारीमा, जमदार १ जना करारमा, सहजकर्ता १ जना करारमा माग गरेको छ । यस्तै तेस्रो तहका लागि एक जना अग्नि नियन्त्रक हवल्दार करारमा, दोस्रो तहका लागि अग्नि नियन्त्रक ८ जना सिपाही करारमा माग गरेको छ ।
यस्तै अग्नी नियन्त्रक सवारी चालक २ जना करारमा, रोडरोलर अपरेटर चालक १ जना मासिक ज्यालादारीमा, भारी सवारी चालक १ जना मासिक ज्यालादारीमा माग गरेको छ ।






