झापा– अग्रता जोगाउन नसक्दा झापा–११ घरेलु फुटबल प्रतियोगिता झापा गोल्डकपको सेमिफाइलनबाट बाहिरिएको छ । शुक्रबार पहिलो सेमिफाइनल खेलमा झापा–११ लाई घरेलु दर्शक र खेल मैदानमा टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
एक गोलले पछि परेको अवस्था उल्टाउँदै एपीएफले जित हासिल गरेको हो । जितसँगै एपीएफले कम्तिमा ७ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । पेनाल्टी सुटआउटमा एपीएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए । नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले रोकेका थिए ।

झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए । नारायण क्षेत्री र गौरव धिमालको बल एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाएका थिए । खेलको ६१ औँ मिनेटमा झापाले अग्रता लिएको थियो । नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्न सफल भएका थिए ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपीएफका स्ट्राइकर नविन लामाले ६७ औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पु¥याएका थिए । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो । ३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट बञ्चित भएको थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।
एपीएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फालेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफका गोलकिपर एञ्जल श्रेष्ठ भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुनेछ ।






