काठमाडौँ । पछिल्लो तीन महिनामा वाणिज्य बैंकहरूले आधारदर लगातार घटाउँदा बैंक ऋण थप सस्तो बन्दै गएको छ । असोज, कात्तिक र मंसिर अवधिमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.४६ प्रतिशतमा झरेको छ । बैंकहरूले आधारदर घटाएसँगै कर्जाको ब्याज पनि सस्तो बनेको छ।
आधारदरमा प्रिमियम थपेर बैंकहरूले विभिन्न कर्जा योजना उपलब्ध गराउँदै आएका छन् । हाल ऋणको माग सुस्त रहेकाले धेरै बैंकहरूले न्यून प्रिमियममै कर्जा दिन थालेका छन् । यसले बैंकबाट कर्जा लिन चाहने ग्राहकका लागि लागत कम भएको संकेत गर्छ । जसले घर, अटो, सेयर तथा व्यवसायिक कर्जामा ब्याजदर थप घट्ने संकेत गरेको छ।
बैंकहरूको आधारदर घट्दा सबैभन्दा ठूलो फाइदा ऋणीलाई पुग्छ । आधारदर कम हुँदा कर्जाको ब्याजदर पनि सस्तो पर्न जान्छ । त्यसैले बैंकबाट ऋण लिँदा कुन बैंकको आधारदर कति छ भन्ने हेरेकै भरमा कुन बैंकको कर्जा सस्तो छ भन्ने अनुमान गर्न कठिन हुँदैन ।
ऋणको ब्याजदर निर्धारण हुने सबैभन्दा मुख्य आधार नै बेस रेट आधारदर हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको न्यूनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदरले गर्छ। कुनै पनि बैंकले आधारदरभन्दा तल कर्जा दिन सक्दैन।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले आधारदर गणना गर्दा विभिन्न अनिवार्य खर्चलाई आधार बनाउँछन् । यसमा राष्ट्र बैंकले तोकेको तरलता व्यवस्थापनको लागत, निक्षेपकर्तालाई दिनुपर्ने ब्याज, कर्मचारीको तलब(भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा तथा अन्य प्रशासनिक खर्च समावेश हुन्छन्।
यी सबै खर्च जोडेर कर्जामा कति ब्याज लिँदा बैंकलाई घाटा नहुने अवस्था आउँछ भन्ने हिसाबबाट आधारदर तय गरिन्छ। त्यसपछि आधारदरमा कर्जाको जोखिम र प्रकृतिअनुसार प्रिमियम थप गरेर अन्तिम ब्याजदर निर्धारण गरिन्छ।
कुन बैंकबाट कर्जा सस्तो ?
हाल सबैभन्दा सस्तो आधारदर स्टान्डर्ड चार्टर्ड बैंकले कायम गरेको छ । यस बैंकको आधारदर ४.२७ प्रतिशत रहेको छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत र एभरेष्ट बैंकको ४.८० प्रतिशत आधारदर छ।
कुल १९ वटा वाणिज्य बैंकको आधारदर ६ प्रतिशतभन्दा तल झरेको तथ्यांकले बैंकहरूबीच ब्याजदर प्रतिस्पर्धा बढेको देखाउँछ । तर एनआइसी एशिया बैंक को आधारदर भने ६.५२ प्रतिशत रहेकाले अझै उच्च पक्षमै छ। ब्याजदर घटेसँगै बैंकहरूले सार्वजनिक रूपमा कर्जा योजना पनि प्रतिस्पर्धात्मक बनाउँदै लगेका छन्। केही बैंकले घर र अटो कर्जामा ६ देखि ७ प्रतिशतसम्म ब्याजदर तोकेका छन् भने केही बैंकले सेयर धितो कर्जा प्रिमियम बिना नै उपलब्ध गराइरहेका छन् ।






